


काठमाडौं,१६ चैत।। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हुने आर्थिक अनियमितता र भ्रष्टाचार रोक्न निर्देशन दिएका छन् । साथै सरकारी कर्मचारीलाई घुस नदिन निर्माण व्यवसायीहरुलाई पनि आग्रह गरेका छन्।
नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना सदस्यहरूलाई परिपत्र जारी गर्दै मन्त्री लम्सालको निर्देशनबारे जानकारी गराएको छ। २०८२ चैत १५ गते मन्त्री लम्साल र महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीबीच मन्त्रालयमा छलफल भएको थियो। पूर्वाधार विकासका काममा आर्थिक अनियमितता हुने र त्यसका कारण समयमै गुणस्तरीय काम सम्पन्न नहुने गुनासो आएपछि मन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

महासंघले जारी गरेको विज्ञप्ति अनुसार, अब निर्माण व्यवसायीले निर्माणाधीन आयोजनाका क्रममा कुनै पनि तहका सरकारी कर्मचारीलाई अतिरिक्त शुल्क दिनु पर्ने छैन। यदि कुनै सरकारी कर्मचारीले त्यस्तो शुल्क मागेमा उसलाई प्रचलित कानुन अनुसार कारबाही गर्न सिधै मन्त्रीलाई जानकारी गराउन निर्देशन दिइएको छ ।
महासंघका महासचिव रोशन दाहालले पत्रमार्फत सबै निर्माण व्यवसायीलाई मन्त्रीको यो निर्देशन पालना गर्न र भ्रष्टाचारमुक्त निर्माण क्षेत्र बनाउन सहयोग गर्न आग्रह गरेका छन्।


