


काठमाडौं,१७ चैत। सरकारको निर्णयसँगै चार सय बढी अनलाइन सट्टेबाजी (बेटिङ) एप तथा वेबसाइटहरु बन्द गरिएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि गत फागुन १३ गते नेपाल दूरसञ्चार प्राधिकरणलाई २४ घण्टाभित्र बेटिङ एप तथा साइटहरु बन्द गर्न निर्देशन दिइएको थियो। जसअनुसार इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरुले सोमबारसम्म ४०० भन्दा बढी बेटिङ प्लेटफर्महरु ब्लक गरेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालका अनुसार सरकारको निर्देशनलगत्तै प्राधिकरणले बेटिङ प्लेटफर्महरु बन्द गराएको हो।
‘सोमबारसम्म ४०० भन्दा बढी एप तथा साइट बन्द भइसकेका छन् र बाँकी पनि बन्द गराउने कार्य भइरहेको छ’, उनले भने, प्रयोगकर्ताले भीपीएन वा डीएनएस प्रयोग गरेर यस्ता साइटमा पहुँच कायम राख्ने गरेका छन्। जसका कारण पूर्ण नियन्त्रण चुनौतीपूर्ण बनेको छ।’

