


भैरहवा, १८ चैत। नेपाल प्रहरीले अप्रिल फुल दिवसको अवसरमा अनौठो शैलीमा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ।
प्रहरी प्रधान कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत क्यूआर कोड सार्वजनिक गर्दै भनेको छ, ‘तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्नका लागि एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस् ।’

तर, उक्त क्यूआर कोड स्क्यान गरेपछि प्रयोगकर्ताले सचेतनामूलक सन्देश प्राप्त गरेका छन्। ‘तपाईंले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानको लागि हो’, उक्त सन्देशमा भनिएको छ, ‘आज हामीले मजाक गरेका थियौं…तर भोलि यस्तै क्यूआर बाट तपाईं स्क्याममा पनि पर्न सक्नुहुन्छ।’

प्रहरीले यस अभियानमार्फत अपरिचित व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त क्यूआर कोड जथाभावी स्क्यान नगर्न आग्रह गरेको छ। साथै, कुनै पनि क्यूआर कोड स्क्यान गर्नुअघि त्यसको विश्वसनीयता पुष्टि गर्नुपर्नेमा जोड दिएको छ।

