


काठमाडौं,१८ चैत। नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतको फैसला नआएसम्म आधिकारिक मान्न नसकिने बताएका छन्।
बुधबार खड्का–कोइराला समूहको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले तत्कालीन केन्द्रीय समितिको आह्वानबिना भएको विशेष महाधिवेशन वैधानिक नभएको दाबी गरे। उनका अनुसार, सोही विषयमा तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

रावलले मुद्दा अदालतमा विचाराधीन रहेकाले छिटो टुंगो लाग्नुपर्ने बताएका छन्। उनले उक्त महाधिवेशन विधि–विधान विपरीत भएको भन्दै त्यसबाट बनेको समितिप्रति वैचारिक असहमति रहेको पनि स्पष्ट पारे। ‘विधि विधानले नभएर एउटा हुल र भेलाले गरेको एउटा कमिटी भएकाले हाम्रो वैचारिक द्वन्द्व छ,’ उनले भने, ‘उहाँहरूले जे गर्नुभएको छ, त्यसलाई निर्वाचन आयोगले सही हो भन्दिएको अवस्था छ, अध्ययन नगरेरै ।’
कांग्रेस विधिपद्धति, मूल्यमान्यता मान्ने पार्टी भएकाले १४ औँ महाधिवेशनबाट निर्वाचित भएको नेतृत्व अर्को अधिवेशन नभएसम्म सहज रूपमा नहट्ने उनले दाबी गरे । आधिकारिक विशेष महाधिवेशन बोलाउने अधिकार पनि केन्द्रीय कार्यसमितिकै हुने उनले बताए ।

