


काठमाडौं,२० चैत। नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै रिक्त पदहरुमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खोलेको छ। प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा भर्ना खुलेको हो ।
इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक, अटोमोबाइल क्षेत्रमा भर्ना खुलेको छ । यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा भर्ना खुलेको छ ।
प्रहरी जवानमा २८० जनाका लागि र अन्य पदहरुमा १२९ जनाका लागि भर्ना खुलेको छ ।
दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म छ । प्राविधिक प्रहरी जवान पदको हकमा भने चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म छ ।


