


काठमाडौं,२२ चैत। नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलियागिरी र अभद्र व्यवहारजस्ता गैरकानुनी गतिविधिविरुद्ध सञ्चालन गरेको विशेष अभियानका क्रममा चार दिनमा लुम्बिनी प्रदेशबाट चारजनासहित २ सय २६ जना लाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार, चैत १८ देखि २१ गतेसम्म चलाइएको उक्त अभियानमा पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाइएको छ। चैत १८ गते काठमाडौँ उपत्यकाबाट ५१ जना र कोशी प्रदेशबाट १८ जना पक्राउ परेका थिए। चैत १९ गते कोशीबाट १, मधेसबाट ७, बागमतीबाट २३, गण्डकीबाट २ र कर्णालीबाट ११ जना नियन्त्रणमा लिइएका थिए।

त्यसैगरी चैत २० गते मधेसबाट ८, गण्डकीबाट १०, लुम्बिनीबाट ४ र सुदूरपश्चिमबाट २ जना पक्राउ परेका छन् भने चैत २१ गते काठमाडौँ उपत्यकाबाट मात्र ६२ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गुण्डागर्दी, बिचौलिया, यातायात तथा मालपोत कार्यालयमा सेवाग्राहीलाई दुःख दिने र सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्ने व्यक्तिहरु छन्। प्रहरीले यस्तो अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ।

