


काठमाडौं,३० चैत। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशनले वैधानिक रुपमा व्यवस्था नगरेसम्म कुनै पनि आम सदस्यको क्रियाशील सदस्यता खारेज गर्न नसकिने बताएका छन्।
कार्यवाहक सभापतिको हैसियतमा सोमबार विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्रको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा एक पक्षले महाधिवेशन घोषणा गर्नु बदनियतपूर्ण भएको टिप्पणी गरे ।

उनका अनुसार, कांग्रेसको क्रियाशील सदस्यता केवल सदस्यता मात्र नभई व्यक्तिको पार्टीसँगको आबद्धता, योगदान र निरन्तरताको प्रमाण हो।
उनले १५औँ महाधिवेशनको कार्यतालिकाअन्तर्गत नवीकरण तथा वितरण गरिएका सदस्यता खारेज गरेर पुनः अद्यावधिक गर्ने कुरा अवैधानिक र पूर्वाग्रही भएको बताएका छन्।
यता, महामन्त्री प्रदीप पौडेलले भने सदस्यता खारेज गर्न लागिएको भन्ने विषयको खण्डन गरेका छन्। उनले सदस्यता अद्यावधिक गर्ने प्रक्रिया मात्रै अघि बढाइएको स्पष्ट पार्दै सबैलाई सहभागी हुन आग्रह गरेका छन्।

