
भैरहवा, ३ बैशाख । रुपन्देही जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाए पाएका ५ जना फरार प्रतिवादीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्णकुमार चन्दले बताए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार पक्राउ पर्नेमा चेक अनादर मुद्दामा बुटवल उप–महानगरपालिका–११, देविनगरको सिता खत्री र चेक अनादर मुद्दामै सिद्धार्थनगर नगरपालिका–८ फहिम लारी रहेका छन्। क्षेत्रीलाई १५ दिन कैद र तीन हजार जरिवाना तथा लारीलाई १५ दिन कैद र एक हजार पाँच सय जरिवाना सजाएको फैसला भएको थियो ।
यस्तै, सवारी ज्यान मुद्दामा सैनामैना नगरपालिका–८, बासगढीको प्रचण्ड भारीलाई २ महिना कैद सजाय रहेको छ।
लागूऔषध सम्बन्धी मुद्दामा कञ्चन गाउँपालिका–५का कमल थापा र बुटवल उप–महानगरपालिका–११ का सुरज गुरुङलाई जनही १ महिना २० दिन कैद सजाय तोकिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका फरार प्रतिवादीहरुलाई फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएको उनले जनाए ।

