


काठमाडौं,३ बैशाख । विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नाम समावेश गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरु’को सूचीमा उनको नाम समावेश गरेको हो ।

३६ वर्षीय शाहलाई टाइमले ‘हिप–हपका पूर्व स्टार’ र नेपालको इतिहासकै ‘कान्छो प्रधानमन्त्री’ का रुपमा चित्रण गरेको छ।
टाइमले फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवापुस्ताको अभूतपूर्व समर्थन र पुराना नेताहरुप्रतिको वितृष्णाका कारण बालेनले सानदार जित हासिल गरेको उल्लेख गरेको छ।
सामाजिक सञ्जालमा उनको पोस्ट उल्लेख गर्दै टाइम म्यागेजिन लेख्छ, ‘पुराना र नयाँ सबै नेता चोर हुन् । बालेनले सामाजिक सञ्जालमा लेखेका थिए । नेपालीहरु अहिले बालेनले आफ्नो उक्त स्टाटस गलत साबित गर्ने प्रतीक्षामा छन् ।’
बालेनसँगै राजनीतितर्फ अमेरिकी नेता डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, पोप लियो चौधौँ, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनवाम, मार्क कार्नी र बेन्जामिन नेतान्याहुको नाम पनि टप १०० मा समेटिएको छ।
टाइम म्यागेजिनले प्रत्येक वर्ष विभिन्न विधामा क्रियाशील व्यक्तिहरुबाट सय प्रभावशाली सूची सार्वजनिक गर्दै आएको छ ।

