


भैरहवा, ६ बैशाख। रुपन्देहीमा पछिल्लो चैत महिनामा महिला छिमेकी सँग झगडाको घटनामा वृद्धि भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको चैत महिनाको विवरण अनुसार, एक महिनामा मात्रै जिल्लामा महिला छिमेकीसँग झगडाको ८८ वटा ठाडो निवेदन प्रहरी कार्यालयमा दर्ता भएको थियो । जसमध्ये ८० वटा निवेदनउपर छलफल गरी मिलापत्र गराइएको छ ।

८८ वटा उक्त घटनामा सबैभन्दा बढी १९ वर्षदेखि ५९ वर्ष उमेरसमूहका ५३ जना व्यक्ति संग्लन रहेको विवरणमा उल्लेख छ।
गत फागुन महिनामा जिल्लामा महिला छिमेकीसँग झगडाको ३८ वटा घटना दर्ता भएको थियो । जसमध्य ३० वटा घटना सोही महिनामा मिलापत्र भएको थियो। यस महिनामा पनि सबैभन्दा बढी १९ वर्षदेखि ५९ वर्ष उमेरसमूहका व्यक्ति घटनामा संग्लन छन्।
यस्तै गत माघ महिनामा ५५ वटा महिला छिमेकीसँग झगडाको घटनामा ४५ वटा घटनाको सोही महिना मिलापत्र भएको थियो।

