
काठमाडौं,८ बैशाख। मौसम पूर्वानुमान महाशाखाले वैशाख १० गते बिहीबारसम्म तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो लहर (हिट वेभ) को सम्भावना रहेको जनाएको छ। यस अवधिमा नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार,रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, बाँके, दाङ, बर्दिया,कञ्चनपुर, कैलाली, डोटी जिल्लाहरूमा तातो लहर चल्ने सम्भावना छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जल तथा मौसम विज्ञानले आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको जनाएको छ। भैरहवामा ४४ डिग्री, धनगढी र नेपालगञ्जमा ४३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
त्यस्तै मधेश प्रदेशका सबै भू–भाग, बाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्र, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भेग, खोच र उपत्यकाहरुमा पनि तातो लहरको अनुमान गरिएको छ। अन्य क्षेत्रमा समेत तापक्रम क्रमशः बढ्दै जानेछ।
मौसमविद् रोजन लामिछानेका अनुसार तातो हावा र लहरका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा, टाउको दुख्ने, खुट्टा बाउडिने, रिङ्गटा लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने र वान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्छन् ।
यसबाट बच्न घरभित्र वा शीतल स्थानमा बस्न, चर्को घाममा बाहिर ननिस्कन, बाहिर निस्कँदा टाउको छोप्न वा छाता प्रयोग गर्न, बिहान वा साँझको समयमा काम गर्न, हल्का कपडा लगाउन र प्रशस्त पानी तथा फलफूलको रस सेवन गर्न सुझाव दिइएको छ। स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

