
पछिल्लो केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढेको छ। तराईका जिल्लामा तातो हावाको लहर (लू) चल्न थालेको छ।
के हो ‘लू’ ?
Advertisement

Advertisement
Advertisement

अत्यधिक गर्मी वा तातो हावाको लहरका लागि पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य कार्ययोजनाका अनुसार अत्यधिक गर्मीका कारण सिर्जना हुने मौसमी अवस्थालाई तातो हावाको लहर (लू) भनिन्छ। नेपालको सङ्घीय तथा प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा यसलाई ‘तातो हावाको लहर’ भनेर उल्लेख गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार चैतदेखि भदौ महिनासम्मको अवधिमा तापक्रमका आधारमा तातो दिनहरु छुट्याइन्छन् ।
अधिकतम तापक्रम विगत ३० वर्षको ९० प्रतिशतभन्दा माथि पुगेमा त्यसलाई तातो दिन भनिन्छ। कार्यविधिमा भनिएको छ, ‘जब लगातार तीन वा बढी दिनसम्म तातो दिन रहन्छ भने हल्का तातो लहर, धेरै तातो दिनको अवस्था रहेमा मध्यम तातो लहर र अत्यधिक तातो दिन भइरहे अत्यधिक तातो लहरको रुपमा वर्गीकृत गरिन्छ ।’
स्वास्थ्यमा कस्तो असर पर्छ ?
जनस्वास्थ्यविद् डा. समीर अधिकारीका अनुसार, ‘लू’ लाग्दा हृदयको गति तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप घट्ने, टाउको अत्यधिक दुख्ने, आँखा पोल्ने, चक्कर लाग्ने तथा अचेत हुने जस्ता समस्या देखिन सक्छन्।
‘लू’ ले दीर्घकालीन असरसमेत पुर्याउन सक्छ, मस्तिष्क तथा रक्त प्रणालीमा समस्या गर्न सक्छ’,उनले भने, ‘बालबालिका र वृद्ध उमेरका समूहलाई सबैभन्दा बढी असर गर्न सक्छ। पर्याप्त पानी पिउने, शीतल छहारीमा बस्ने, मदिरा तथा धूम्रपान गर्नुहुँदैन।’
यस्तै शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी पुग्ने, छाला सुक्खा, रातो र तातो हुने लक्षण पनि देखिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले ‘लू’ चल्दा वा अत्यधिक गर्मीको समयमा बालबालिकाको स्वास्थ्यमा असर पुग्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन सुझाव दिए।
विश्व स्वास्थ्य सङ्गठनले गरेको ‘नेपालमा तातो हावाको लहरको प्रवृत्ति र यसबाट उत्पन्न स्वास्थ्य जोखिमबारे जनधारणाको अध्ययन’ ले जलवायु परिवर्तनका कारण गर्मीजन्य समस्या बढेको निष्कर्ष निकालेको छ ।
अध्ययनअनुसार जलवायु परिवर्तन, तीव्र सहरीकरण र वायु प्रदूषणका कारण तापक्रम बढ्ने प्रवृत्ति निरन्तर बढेको हो। यसले मानव स्वास्थ्यसँगै अन्य क्षेत्रमा पनि नकारात्मक असर पारिरहेको छ। बढ्दो तापक्रमसँग जुध्न जनचेतना अभिवृद्धि, स्वास्थ्य सुरक्षा उपायको विस्तार र स्थानीय तहमा अनुकूलन रणनीति सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
‘लू’ बाट कसरी जोगिने ?
‘लू’ बाट जोगिन दिउँसो सकेसम्म घरबाहिर ननिस्कन, प्रशस्त पानी तथा फलफूलको रस पिउन, अत्यधिक पसिना आएमा ‘जीवनजल’ सेवन गर्न सुझाव दिइएको छ। बाहिर निस्कनै परे टाउको छोप्ने, छाता प्रयोग गर्ने, चिसो पानीले नुहाउने तथा खेतबारीमा बिहान वा बेलुका मात्र काम गर्न सल्लाह दिएको छ।
यसका साथै मदिरा सेवन नगर्न, क्याफिनयुक्त पेय पदार्थ (चिया, कफी, सोडा) कम प्रयोग गर्न र चिनी बढी भएको झोल पदार्थ नपिउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।

