


पोखरा, ११ बैशाख । यस एरियाको डन हुँ भन्दै भय सृजना गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला तनहुँ व्यास नपा-२ घरभई हाल जिल्ला कास्की पोखरा मनपा-८ सिमलचौरका ३२ वर्षीय सुवास कायस्थ र सोही स्थानका ३१ वर्षीय सुरज कायस्थ रहेको कास्की प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी गणेश पाण्डेका अनुसार, लेकसाइड क्षेत्रमा पर्यटक तथा स्थानीय व्यवसायीहरुलाई धाकधम्की देखाउने, त्रास देखाउने तथा ‘यस एरियाको डन हुँ’ भन्दै भय सिर्जना गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई नक्कली पेस्तोलसहित पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुको घर कोठा खानतलासी गर्दा नक्कली पेस्तोल, पेस्तोल कभर, रडको स्लाईड स्टिक र नोक २ थान बरामद भएको उनले बताए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

