
मर्चवार । शिक्षालाई समाज परिवर्तनको संवाहक र विद्यालयलाई ज्ञानको मन्दिर मानिन्छ । जहाँ बालबालिकाले आफ्नो भविष्यको सुन्दर सपना बुन्छन्, त्यही ठाउँबाट एउटा घटना बाहिरिएको छ-जसले शैक्षिक जगतको मर्म र मर्यादामाथि नै आघात पुर्याएको भन्दै रुपन्देहीको मर्चवारमा चर्चा चुलिएको छ ।
जिल्लाको मर्चवारीमाई गाउँपालिका–३ स्थित श्रीमती मनराजीदेवी माध्यमिक विद्यालयका कर्मचारी (लाइब्रेरियन) विकास यादवले विद्यालयमा अध्यनरत १७ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको दावीसहितको घटना बाहिरिएको छ ।
Advertisement

Advertisement
Advertisement

२०८२ चैत २७ गते विद्यालयको पुस्तकालयमा कार्यरत यादवले जबरजस्ती करणी गरेको आरोप पीडितको छ । आफूसित शारीरिक सम्बन्ध नबनाए परीक्षामा फेल गराइदिने धम्की दिँदै कर्मचारी यादवले पटक–पटक जबरजस्ती करणी गरेको पीडित छात्राको दावी छ ।
विद्यालय प्रशासनको दबाब र उदासीनताका कारण घटनालाई सामाजिक तवरबाट समेत दबाउने प्रयास भएको उनको गुनासो छ । तर, पछि उनले प्रहरी कार्यालयमा पुगेर घटनाबारे जाहेरी दर्ता गराएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाका अनुसार, इलाका प्रहरी कार्यालय मर्चवारमा यादवविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भइसकेको छ । ‘जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढेको छ’,उनले भने, आरोपी फरार रहेकोले खोजी गरिरहेका छौं।’
कर्मचारीविरुद्ध फौजदारी मुद्दा दर्ता भइसक्दा समेत विद्यालय प्रशासनले हालसम्म शिक्षकलाई स्पष्टीकरणसमेत नसोधेको बुझिएको छ । विद्यालयका प्रधानाध्यापक हृदयराम यादवले घटनाबारे आफूलाई जानकारी रहेपनि कर्मचारीउपर कारवाही प्रक्रिया अघि नबढाइएको स्विकार गरे ।
त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याममोहन यादवले विद्यालयको बन्द रहेको र प्रधानाध्यापक पनि नरहेकोले कर्मचारीउपर कारवाही प्रक्रिया अगाडी बढाउन नसकेको दावी गरे ।
यसअघि पनि विद्यालयमा यस्तै प्रकृतिको घटना भएको सरोकारवालाहरु बताउँछन्। मर्चवारीमाई गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले आरोपीलाई पक्राउ गरी कानुनी कारबाही गर्न प्रहरीसँग समन्वय भइरहेको बताए ।
घटना दबाउन वा दोषीलाई संरक्षण गर्न खोज्ने विद्यालय प्रशासनको भूमिकामाथि पनि निष्पक्ष छानबिन गरिने र त्यस्तो पाइए जिम्मेवार कर्मचारी/पदाधिकारीलाई पनि कानुनी दायरामा ल्याइने उनको भनाइ छ ।

