


पोखरा,२१ बैशाख । प्रहरीले एक युवतीलाई फेरी चोरीको कसुरमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–३ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१० राम बजारमा बस्दै आएको २५ वर्षीया अम्बिका पुलामी मगरलाई पक्राउ गरिएको हो।
पोखरा महानगरपालिका–२५ हेम्जास्थित रामचोककी ६ वर्षीया बालिकाले कानमा लगाएको २८ लालको सुनको मुन्द्रा चोरीको उजुरीको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार सुन चोरी गर्नका लागि पक्राउ परेकी युवतीले ‘म तिम्रो ममीको साथी हुँ’ भन्दै विश्वासमा लिएर जुस, आइसक्रिम जस्ता खानेकुरा खान दिएर फकाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
उक्त युवतीले घटनाका लागि प्रयोग गरेको ग२५प ३५८४ नम्बरको स्कुटरको खोजतलास गर्दा भाडामा लिएको पाइएको र सोही आधारमा फेला पारी पक्राउ गरिएको उनले बताए ।
उनका अनुसार, अनुसन्धानको क्रममा युवती अपराध अभिलेख प्रणाली हेर्दा जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा १८ वटा मुद्दामा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको देखिएको छ।
पक्राउ परेको युवतीविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

