
काठमाडौं,२२ बैशाख। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र इन्धनको तीव्र मूल्यवृद्धिका कारण आयोजनाहरु प्रभावित भएको भन्दै सरकारलाई एक साताभित्र आवश्यक नीतिगत निर्णय र मूल्य समायोजन गर्न आग्रह गरेको छ। यदि उक्त अवधिमा माग सम्बोधन नभए निर्माण कार्य स्वतः बन्द हुने चेतावनी महासंघले दिएको छ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले मूल्य समायोजनको मार्ग निर्देशिका वा परिपत्र तत्काल जारी गर्न र सबै अवधिका ठेक्को हकमा मूल्य समायोजनको व्यवस्था गरि निर्माण व्यवसायीहरुलाई तत्काल राहत दिन माग गरेको छ।
Advertisement

Advertisement
Advertisement

वर्तमान परिस्थितिका कारण निर्माण आयोजनाहरु पूर्व निर्धारित समयमा नै सम्पन्न हुने कुनै सम्भावना नरहेकाले बैंक ग्यारेन्टी, बीमा तथा थप क्षतिपूर्तिसहित सबै आयोजनाहरुको म्याद थप र बजेट व्यवस्थापन लागि सरकार समक्ष अनुरोध गरिएको महासंघका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिए ।
उनले विद्युतीय खरिद प्रणालीसँग सम्बन्धित बिषयमा अनुसन्धानका लागि निर्माण व्यवसायीले पहल गरे पनि निर्माण व्यवसायीमाथि धरपकड भइरहेको भन्दै आपत्ति जनाए। व्यवसायीलाई त्रसित बनाउने र पक्राउ गर्ने कार्य रोक्न उनले माग गरे।
त्यस्तै सार्वजनिक खरिदसम्बन्धी अध्यादेशले केही सुधारका संकेत देखाए पनि उपभोक्ता समितिमार्फत हुने काम र मूल्य समायोजनका मुख्य समस्या समाधान गर्न नसकेको महासंघको निष्कर्ष रहेको अध्यक्ष पाण्डेले बताए।
महासंघले हालको जटिल परिस्थितिमा निर्माण कार्य गरे थेग्ने नसक्ने घाटा र निर्माण कार्य नगरे सरकारी जरिवानाले गर्दा निर्माण व्यवसायीहरु दोहोरो मारमा परेकाले आफ्ना माग पुरा नभए छिटै आन्दोलनका कार्यक्रमको घोषणा गरिने जनाएको छ ।

