


कपिलवस्तु,२३बैशाख। मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने ८ जना चालकहरुलाई कारवाही गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु तथा मातहत कार्यालयहरुले सञ्चालन गरेको मादक पदार्थ सेवन (मा.प.से.) नियन्त्रण विशेष अभियान अन्तर्गत सप्राइज चेकिङमा मापसे गरेर गाडी चलाउने ८ जना चालकहरुलाई कारवाही गरिएको हो ।

सप्राइज चेकिङमा ट्र्याक्टर, निजी जिप/कार एक-एक र ६ वटा मोटरसाइकल/स्कुटरका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
सवारी साधनका चालकले नै मादक पदार्थ सेवन गरी सवारी चलाउनु गम्भीर नियम उल्लंघन तथा दण्डनीय कार्य भएको ट्राफिक प्रहरीले जनाएको छ। यस्तो गतिविधिले चालक मात्र नभई यात्रुहरु समेत जोखिममा पर्ने भएकाले सतर्क रहन प्रहरीले अनुरोध गरेको छ।
कुनै यात्रुले आफू सवार सवारी साधनका चालकले मादक पदार्थ सेवन गरेको शंका लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले आग्रह गरेको छ।

