


काठमाडौं,२३ बैशाख । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक आह्वान गरेका छन्।
रिक्त रहेका संवैधानिक निकायका पदहरुमा नियुक्ति सिफारिस गर्ने उद्देश्यसहित बैठक आह्वान गरिएको हो। बैठक बिहीबार साँझ ५ बजे बस्ने तय गरिएको छ।

हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका महत्वपूर्ण संवैधानिक पदहरु रिक्त रहेका छन्। सरकारले दोस्रोपटक सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने बाटो खुलेको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस रहनेछ।
बैठकमा संवैधानिक परिषद्का सदस्य सभामुख डोलप्रसाद अर्याल (डीपी), राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।
प्रधानन्यायाधीश पनि सदस्य रहने भएपनि प्रधानन्यायाधीशको नियुक्ति सिफारिस हुने भएकाले बैठकमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई नबोलाइएको बताइएको छ।
सर्वोच्च अदालतको प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ। न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो। संवैधानिक परिषद्ले प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस गरेर संसदीय सुनुवाइबाट अनुमोदन भएपछि नियुक्त हुने संवैधानिक व्यवस्था छ।

