


काठमाडौं,२३ बैशाख । नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबारसँग सम्बन्धित विभिन्न एप तथा प्रणालीको दुरुपयोग गरी बैंक तथा वित्तीय संस्थाका खाताबाट रकम चोरी हुने घटना बढ्दै गएकोले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
ब्यूरोका अनुसार, कनेक्ट आइपिएससँग जस्तै देखिने नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरबाट प्रयोगकर्तालाई झुक्याउने सन्देश तथा एलर्ट पठाउने गरिएको पाइएको छ।

यस्ता माध्यमबाट प्रयोगकर्तालाई ‘फिसिङ लिङ्क’ पठाई व्यक्तिगत विवरण प्राप्त गर्ने र त्यसैको आधारमा बैंक खातामा अनधिकृत पहुँच पुर्याएर ठूलो मात्रामा रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्यूरोले जनाएको छ।
ब्यूरोले सर्वसाधारणलाई यस्ता शंकास्पद लिङ्क नखोल्न, आधिकारिक वेबसाइट मात्र प्रयोग गर्न, आफ्नो व्यक्तिगत तथा बैंकसम्बन्धी विवरण गोप्य राख्न तथा यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय, साइबर ब्यूरो वा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।
हेर्नुहोस् ब्यूरोको पत्र :


