


दाङ,२४ बैशाख। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरुको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने सम्मका निर्णय गरेको छ।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुका अनुसार, बिहीवार बसेको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयमा सचिव राम पराजुलीलाई सरुवा गरेको छ भने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सचिव जानुका पण्डितलाई ल्याउने निर्णय गरेको छ ।

यस्तै, अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको छ । बैठकले गुल्मी जिल्लास्थित इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ को चापटारीमा कायम गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री सारुले जनाए ।
उनका अनुसार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृति सम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरिएको छ।
प्रदेश प्रशासनिक परिसरभित्र नवनिर्मित भवनबाट सेवा प्रवाहका लागि आवश्यक फर्निचर तथा फिक्स्चर्स व्यवस्थापन गर्न बजेट फुकुवा गर्ने निर्णय समेत बैठकले गरेको छ ।

