


भैरहवा,२४ बैशाख। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले रुपन्देहीका सीमावर्ती प्रहरी इकाइहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्।
निरीक्षणका क्रममा उनले इलाका प्रहरी कार्यालय मझगावाँसहित प्रहरी चौकी बगौली, पाण्डे पिप्रहवा, मुडिला करौता र रोईनिहवा प्रहरी चौकीको अवस्था अवलोकन गर्दै सीमा सुरक्षा, अपराध न्यूनीकरण, खुला नाका तथा सीमा सुरक्षाको प्रभावकारी व्यवस्थापन, विपद् व्यवस्थापन तथा नागरिकमैत्री प्रहरी सेवाबारे आवश्यक निर्देशन दिएका हुन्।

साथै, प्रहरी कर्मचारीलाई अनुशासन, ड्युटी व्यवस्थापन, ट्राफिक सुरक्षाका सामग्रीको प्रयोग, सरसफाइ तथा भौतिक संरचनाको मर्मत–सम्भारलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
निरीक्षणका क्रममा नेपाल–भारत सीमा क्षेत्रको अवलोकन गर्दै भारतीय सीमा सुरक्षा बल एसएसबीका कर्मचारीसँग सीमा सुरक्षा तथा आपसी समन्वयका विषयमा समेत छलफल गरिएको बताइएको छ।

