


भैरहवा,२५ बैशाख । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा लुम्बिनी प्रदेशका अधिकांश भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जनाएको छ।
मौसमविद सुदर्शन हुमागाईंका अनुसार, आगामी जेठ १८ देखि असोज १४ गतेसम्म चार महिनाको मनसुन अवधिमा प्रदेशका धेरै क्षेत्रमा वर्षा औसतभन्दा कम हुन सक्ने देखिएको हो। लुम्बिनी प्रदेशका अधिकांश भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ ।

यसैगरी, मनसुन अवधिभर लुम्बिनी प्रदेशमा तापक्रम पनि औसतभन्दा बढी रहने सम्भावना देखिएको छ। विभागका अनुसार, प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको छ।
त्यस्तै, लुम्बिनी प्रदेशका दक्षिणी भू–भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ।
विभागले यस वर्ष देशभर नै गर्मी बढ्ने संकेत देखिएको जनाएको भएपनि लुम्बिनी प्रदेशमा कम वर्षा र उच्च तापक्रमका कारण गर्मीको प्रभाव अझ बढी महसुस हुन सक्ने अनुमान गरिएको छ।

