


काठमाडौं,२५ बैशाख। आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भारत मोतिहारीका २९ वर्षीय संजय कुमार, काठमाडौं महानगरपालिका–१६ का ५२ वर्षीय नगेन्द्र शाह, बाँकेको खजुरा गाउँपालिका–२ का २४ वर्षीय मो.अलताव खाँ तथा सल्यानको कुमाख गाउँपालिका–२ घर का १९ वर्षीय केशव सुनार रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी केन्द्रीय समाचार कक्ष अनुसार, पक्राउ परेका संजय कुमार र नगेन्द्र शाहले बेलायत पठाइदिन्छु भन्दै पीडितबाट २२ लाख रुपैयाँ लिएको आरोप छ। त्यसैगरी मो.अलताव खाँले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५१ लाख रुपैयाँ लिएको तथा केशव सुनारले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितहरुको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आरोपीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

