


भैरहवा, ३० वैशाख। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले चैत महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ अवार्ड जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा कार्यरत प्रहरी जवान नैना चौधरीलाई प्रदान गरेको छ ।
बुधवार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख भूपेन्द्र बहादुर खत्रीले प्रहरी जवान चौधरीलाई कदरपत्र तथा पुरस्कार प्रदान गरी सम्मान गरेका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार, प्रहरी जवान चौधरीले हराएका व्यक्तिहरुको खोजतलास गरी आफन्तको जिम्मा लगाउने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने घरेलु हिंसा नियन्त्रणमा उत्कृष्ट सेवा प्रदान गरेको मूल्यांकनका आधारमा उक्त सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा समसामयिक प्रहरी चुनौती, कार्यक्षेत्रका अनुभव, सेवा प्रवाहलाई प्रभावकारी बनाउने उपाय तथा समुदायसँगको सम्बन्ध सुदृढ गर्ने विषयमा विचार आदानप्रदान गरिएको प्रहरीले जनाएको छ।

