


काठमाडौं,१ जेठ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन पाएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ।
बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाको प्रयोगशालामा परीक्षण गर्दा दुवै उत्पादन निर्धारण गुणस्तर मापदण्डअनुसार नरहेको विभागले जनाएको छ।

विभागका अनुसार, यशोधा फुड्सबाट उत्पादन हुँदै आएका १०० ग्रामको ‘करेन्ट नुडल्स’ (ब्याच नं. ०४ए) र ५० ग्रामको ‘लाली चाउचाउ’ (ब्याच नं. ०२ए) परीक्षणका क्रममा प्रयोग गरिएको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु मापदण्ड अनुरुप छैन ।
चाउचाउ गुणस्तरहिन भेटिएपछि विभागले बजारमा रहेका ती उत्पादन तत्काल फिर्ता गर्न आदेश जारी गरेको हो।
त्यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि दुहबी सुनसरीद्वारा उत्पादित ज्याकन्याक क्रेकर्स बिस्कुट (ब्याच नं. ६)पनि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न आदेश गरिएको छ।




