


काठमाडौं,१ जेठ। प्रहरीले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा आपराधिक लाभ सम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–११ का २३ वर्षीय समिर तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका युवकले टिकटक लगायतका सामाजिक सञ्जालमा पीडित महिलाको फोटो राखेर ब्ल्याकमेल गर्ने, व्यक्तिगत फोटो तथा भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिएर पीडितबाट आर्थिक लाभ लिएको उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१३ कलंकीबाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रहरीले पक्राउ परेका युवकविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

