


भैरहवा,३ जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीलाई थुनेर तथा हतोत्साहित गरेर मुलुक अघि बढ्न नसक्ने बताएका छन्। उनले यस्तो प्रवृत्तिले निजी क्षेत्रको मनोबल कमजोर बनाउने भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका हुन्।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बेला संघीय सरकारका कारण हतोत्साहित हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको बताए। उनले प्रदेश सरकार निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि सधैं साथमा रहने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री आचार्यले व्यवसायीप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उद्योगका लाइन काटिएको समयमा प्रदेश सरकारले अग्रसरता नलिएको भए समस्या थप लम्बिने अवस्था आउने बताए।
उनले उद्योगी तथा व्यवसायीका समस्याका विषयमा संघीय सरकारसँग निरन्तर छलफल गरिने पनि बताए।
‘व्यवसायीहरुलाई थुनेर, हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन। बदमासी भएका छन् भने कानुनी रुपमा दण्डित गर्न सकिन्छ,’उनले भने,‘तर, सिंगो व्यवसाय क्षेत्रलाई नै हतोत्साहित बनाउने गरी धरपकड गर्नु मुलुकका लागि राम्रो हुँदैन।’
निजी क्षेत्र समस्यामा रहेको अवस्थामा थप धरपकडको वातावरण बने निजी क्षेत्र नै धरासायी हुने खतरा हुने भन्दै निजी क्षेत्रलाई चलायमान बनाउन नसकिए मुलुकको आर्थिक अवस्था झन् कमजोर बन्ने बताए।
प्रदेश सरकारले निजी क्षेत्रको लगानी बढाउने र व्यवसायीलाई प्रोत्साहन गर्ने गरी नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

