


काठमाडौं,५जेठ। संसदको सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।
मंगलबार बसेको समितिको बैठकले उनीविरुद्ध दर्ता भएका उजुरीमाथि छलफल तथा सुनुवाइपछि अनुमोदन गर्ने निर्णय गरेको हो।

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार समितिबाट शर्माको नाम सर्वसम्मतले अनुमोदन भएको हो। अब संवैधानिक प्रक्रिया अनुसार राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्।
शर्माविरुद्ध १६ वटा उजुरी परेका थिए। ती उजुरीबारे छलफल र स्पष्टिकरण लिएपछि समितिले उनको नाम अनुमोदन गरेको जनाएको छ।
यसअघि संवैधानिक परिषद्ले वैशाख २४ गते चौथो वरियतामा रहेका डा.शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतकाले विरोध पनि गरिरहेका छन्।

