
भैरहवा,६ जेठ। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘पञ्चकन्या रुपन्देही सुपरलिग’मा लिग चरणका खेलहरु सकिएका छन् ।
लिग चरणको ‘ए’ डिभिजनको अन्तिम खेलमा बुद्ध क्रिकेट क्लब पराजित भएसँगै ‘बी’ डिभिजनमा घटुवा भएको छ । बुधबारको खेलमा बुद्धलाई १ सय १० रनले पराजित गर्दै नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले जित निकालेको छ । हारसँगै बुद्ध रेलिगेशनमा परेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

टस हारेर ब्याटिङको निम्तो पाएको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर १ बलमा सबै विकेट गुमाउँदै २ सय १७ रन बनाउन सफल भयो । जसका लागि प्रतीक भट्टराईले ६२, लक्ष्मण कुमालले ३२, अमन बोहराले २७, मौसम ढकालले २३, कुशल ढकालले १८ र रोशन घिमिरेले ११ रनको योगदान गरे । बलिङमा बुद्धका दिलसाद अली र अमित अग्रहरीले ३–३ तथा हरिकेश मुराउले २ र गौतम केसीले १ विकेट लिए ।
जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको बुद्धले २१ ओभर १ बलमा अलआउट हुँदै १ सय ७ रनमै समेटिन पुग्यो। उसलाई सस्तैमा समेट्नका लागि नेपथ्य तिलोत्तमाका लक्ष्मण कुमालले ४, सन्दीप यादव र आशुतोष पाण्डेले समान २–२ तथा प्रतीक भट्टराई र रोशन घिमिरेले १–१ विकेट लिए। बुद्धका अजय त्रिपाठीले ३६, प्रवेज अन्सारीले २०, हरिकेश मुराउले १२ र अमित अग्रहरीले १० रन बनाए । खेलमा लक्ष्मण कुमाल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

