


काठमाडौं,६ जेठ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसदप्रति जिम्मेवार र उत्तरदायी नबन्दासम्म आफ्नो पार्टीले संसदमा विरोध जारी राख्ने बताएका छन् ।
बुधवार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सरकारको आलोचना गर्दै संसदप्रति जवाफदेही बनाउन खोज्दा निलम्बन गरिए पनि आफूहरु तयार रहेको बताए।

सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफूहरुको विरोध रहेको उनले बताए। उनले सार्वभौम संसद र संसदको विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा राखे।
सुकुमबासी, लिपुलेक, विदेशी ऋण लगायत आफूहरुका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उनले बताए। उनले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्यांकन जनताले गर्ने उल्लेख गरे।
उनले प्रधानमन्त्री स्वयं गृहमन्त्रीको जिम्मेवारीमा रहेको उल्लेख गर्दै गृह मन्त्रालयसँग सम्बन्धित विषयमा संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग गरे । उनले सुकुम्वासी बस्ती खाली गराउने विषयलगायत विभिन्न मुद्दामा गृह मन्त्रालयमाथि प्रश्न उठेकाले त्यसबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताए ।
उनले भने, ‘हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ । यदि सरकारको आलोचना गर्दैमा र संसदप्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्बन गरिन्छ भने पनि हामी रेडी छौँ ।’

