


भैरहवा, ६ जेठ। नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यममार्फत फैलाइएका भ्रामक विज्ञापनप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
ब्यूरोका अनुसार पछिल्लो समय ‘विश्वकप २०२६’ तथा ‘लाइभ टिभी’ हेर्ने प्रलोभन देखाउँदै प्रयोगकर्तालाई शंकास्पद एपीके फाइल डाउनलोड गराउने र त्यसमार्फत मोबाइल बैंकिङ एप ह्याक गरी आर्थिक ठगी गर्ने प्रवृत्ति बढ्दै गएको छ।

साइबर ब्यूरोले सार्वजनिक गरेको सूचनामा स्पोन्सर्ड विज्ञापनमार्फत विभिन्न लिंक पठाई अनधिकृत एप डाउनलोड गराउन खोजिएको उल्लेख गरिएको छ। यस्ता फाइल डाउनलोड गर्दा मोबाइलमा रहेको व्यक्तिगत विवरण, बैंकिङ सूचना तथा गोप्य डेटा जोखिममा पर्न सक्ने चेतावनी ब्यूरोले दिएको छ।
ब्यूरोले प्ले स्टोर वा अन्य माध्यमबाट एप्लिकेसन इन्स्टल गर्दा विशेष सावधानी अपनाउन, आधिकारिक स्रोतबाट मात्रै एप डाउनलोड गर्न तथा अपरिचित एपीके फाइल नखोल्न आग्रह गरेको छ।

