


भैरहवा,६ जेठ। रुपन्देहीको एक जना व्यक्तिलाई काठमाडौंमा कुटपिट गरी ज्यानमार्ने धम्की दिएर फिरौती असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनकुटा महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षीय योगेन्द्र पौडेल र धनुषा मिथिला नगरपालिका–८ का ४३ वर्षीय रविन कोइराला रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले सार्वजनिक गरेको घटना विवरण अनुसार, पक्राउ परेकाहरुले सोमबार काठमाडौंको पिंगलास्थानस्थित डिजिटल स्टुडियोमा संचालन गर्दै आएका रुपन्देहीको सियारी गाउँपालिका–५ का ६० वर्षीय विष्णु न्यौपानेलाई कुटपिट गरी पसलमा रहेको २ लाख रुपैयाँ लुटपाट गरेका थिए ।
रकमसँगै न्यौपानेलाई बागमती करिडोरस्थित निलोपुलमा लगेर आफन्तसँग फिरौती माग्दै नदिए ज्यान मार्ने धम्की दिएर थप ५० हजार रकमसमेत लिएपछि न्यौपानेलाई छाडेर उनीहरु फरार भएका थिए ।
पक्राउ परेकाहरुका साथबाट विभिन्न कार्ड, मोबाइल, नगद रकम, चेक लगायतका सामग्री बरामद भएको छ। प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले घटनामा संग्लन आरोपमा दुई जनालाई पक्राउ गरेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

