


काठमाडौं,१३ जेठ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको बताएकी छिन्।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले ४ लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई बिक्री गरिसकिएको बताइन् ।

सरकारले लागत साझेदारीका आधारमा किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको उल्लेख गर्दै मन्त्री चौधरीले गोदाममा भण्डारण र नेपालमा आयात हुँदै गरेको हाल १ लाख ४० हजार ५८५ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिइन्।
मन्त्री चौधरीले गोदाममा मल मौज्दात रहेको संसद्मा जानकारी गराएपनि किसानहरुले खेतीको समयमा नै मल नपाइएको गुनासो गरेका छन्।
उनका अनुसार चालु आर्थिक वर्षको असारसम्म कुल ५ लाख मेट्रिक टन मल अनुदानमा वितरण गर्ने लक्ष्य रहेको छ। जुन अहिलेसम्मकै उच्च परिमाण हुने दाबी गरिएको छ ।
मन्त्री चौधरीले मध्यपूर्वमा जारी द्वन्द्वका कारण मल उत्पादन, आपूर्ति र मूल्यमा असर परेको बताइन्। यस परिस्थितिलाई ध्यानमा राख्दै चालु तथा आगामी आर्थिक वर्षको बजेटमार्फत मल आपूर्तिका लागि सम्झौता गरिसकिएको जानकारी दिँदै उनले अझै १ लाख ८७ हजार मेट्रिक टन रासायनिक मल आउन नसकिरहेको पनि बताइन् ।
धान रोपाइँको समयमा मल अभाव हुन नदिन मन्त्रालयले ध्यानाकर्णष भएको र आपूर्तिमा समस्या नआओस् भनेर सम्बन्धित कम्पनीहरुलाई पटक–पटक ताकेता गरिएको पनि मन्त्री चौधरीले बताइन्।

