


भैरहवा, १९ जेठ । रुपन्देहीको भैरहवास्थित महिन्द्रा गाडीको विक्रेता समृद्धि इन्टरप्राइजेजबाट आफुहरु ठगिएको पीडितहरुले गुनासो गरेका छन्।
पीडितहरुले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर समृद्धि इन्टरप्राइजेजले वर्षौ अघि गाडीको सम्पूर्ण रकम लिएर गाडी नामसारी नगरी ठगी गरेको बताएका छन्। थुप्रै व्यक्तिहरुलाई इन्टरप्राइजेजका संचालक दीपक श्रेष्ठले पैसा लिएर गाडी बेचेको तर नामसारी नगरी बिचल्लीमा पारेको उनीहरुको दावी छ । संचालकले विक्री गरेका गाडीहरुको भैरहवास्थित ग्लोबल आइएमई बैंकबाट ऋण लिएको उनीहरुको भनाई छ।

‘मैले ०८० कार्तिक १३ गते समृद्धि ईन्टरप्राईजेजलाई सबै रकम दिएर महिन्द्रा कम्पनीको बोलेरो पिकअप गाडी किनेको थिए, मैले बैंकबाट एक रुपैयाँ ऋण पनि लिएको छैन’, सिद्धार्थनगर नगरपालिका १० का गौतम यादवले पत्रकार सम्मेलनमा भने,‘जसपश्चात गाडी नामसारीका लागि मैले पटक–पटक विक्रेतालाई आग्रह गरे तर उहाँ (दीपक श्रेष्ठ) ले नामसारी गरिदिनु भएको छैन । मैले विक्रेतालाई सबै पैसा तिरेपनि अहिले मेरो गाडी बैंकले लगेर मलाई बिचल्लीमा पारिएको छ ।’
सियारी गाउँपालिका–६ का माधव चौधरीले आफुले पनि गाडीको सबै पैसा तिरेपनि अहिलेसम्म गाडी नामसारी नभएको गुनासो पोखे। ‘मैले गाडी खरिद गरेको करिब ५ वर्ष भयो र मैले सयौ पटक नामसारी गरिदिनका लागि आग्रह गरेपनि विक्रेताले नामसारी गरेका छैनन्’,उनले भने,‘जसकारण बैंकले मलाई पटक पटक मानसिक पीडा दिइरहेको छ।’
त्यस्तै दाङका मिनराज अधिकारी र सोमप्रसाद चौधरीले आफुहरुले ०७६ कार्तिक २५ गाडी खरिद गरेपनि हालसम्म नामसारी नगरी विक्रेताले दुःख दिइरहेको बताए।
‘बैंकबाट विक्रेता कम्पनीले ऋण लिएको हो, हामी लिएका होइनौं’,पीडितहरुले भने,‘बैंकले ऋणीलाई सम्पर्क गर्ने हो, कानुनी प्रक्रिया उसैमाथी अगाडी बढाउने हो तर बैंकले हामी सबै पैसा दिएर गाडी खरिद गरेकाहरुलाई मानसिक पीडा दिइरहेको छ।’
यता समृद्धि इन्टरप्राइजेजका संचालक दीपक श्रेष्ठसँग प्रतिक्रियाका लागि ९८५७०२०… नम्बरमा सम्पर्क गर्न खोज्दा मोबाइल स्विच अफ रहेको र प्रतिष्ठान समेत बन्द रहेकोले उनीसँग सम्पर्क हुन सकेन ।

