


बुटवल, २० जेठ। लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले राजीनामा दिएपछि नयाँ मन्त्रीहरुको नाम सिफारिस गरिएको छ।
पार्टी स्रोतका अनुसार, रुपन्देहीका तुलसीप्रसाद चौधरी, गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे र बाँकेका रत्न खत्री मन्त्रीका लागि सिफारिस भएका छन्। खत्रीले यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका थिए। जस अनुसार मन्त्रीहरु भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले पदबाट राजीनामा दिएका हुन्।
कांग्रेससँगको सत्ता साझेदारी र सरकार पुनर्गठनको तयारीबीच एमालेले मन्त्री परिवर्तन गर्न लागेको हो। प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या घटाएर आठमा सीमित गर्ने निर्णयसमेत गरिसकेको छ। नयाँ मन्त्री चयनबारे छलफल भइरहेको र निर्णय हुन बाँकी रहेको मुख्यमन्त्री आचार्यले बताए।

