


काठमाडौं,२० जेठ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरु सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्ने उद्देश्यसहित रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारांश उद्धृत गर्दै ओलीले ती घटनाहरु प्रायोजित तथा आपराधिक गतिविधिको हिस्सा भएको आरोप लगाए।

संवैधानिक र लोकतान्त्रिक रुपमा निर्वाचित बहुमतको सरकारलाई कानुनी वा संसदीय प्रक्रियाबाट हटाउन नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको उनको भनाइ छ।
ओलीले घटनाको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको दाबी गर्दै आगजनी, पेट्रोल बम निर्माण र अन्य प्रज्वलनशील पदार्थको प्रयोगका लागि प्राविधिक तयारीसमेत गरिएको उल्लेख गरे। उनका अनुसार, यो कुनै आकस्मिक घटना नभई योजनाबद्ध रुपमा अघि बढाइएको गतिविधि हो।
उनले लोकप्रिय नेताहरुलाई बदनाम गर्ने र झुटा आरोप लगाउने प्रयास पनि सोही योजनाको हिस्सा भएको जिकिर गरे । साथै, आपराधिक गतिविधि आफैँ गरेर दोष अरुलाई थोपर्ने प्रवृत्ति देखिएको भन्दै उनले घटनालाई ‘काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने’ प्रयाससँग तुलना गरे।

