


काठमाडौं,२२ जेठ। भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र कार्यस्थलमा हाजिर हुन निर्देशन दिएको छ।
तोकिएको समयभित्र सम्पर्कमा नआए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी विवरण राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई अनिवार्य रुपमा तीन दिनभित्र अभिलेख अद्यावधिक गर्न आग्रह गरेको हो।
त्यसैगरी, नेपाल सरकारअन्तर्गतका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय कार्यालयहरुलाई विभिन्न समयमा अध्ययन वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीको विवरण यकिन गर्न अनुरोध गरिएको छ। बिदा अवधि समाप्त भएपछि कर्मचारी हाजिर भए–नभएकोलगायतका विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी अभिलेख अद्यावधिक गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

