


भैरहवा,२२ जेठ। जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो हावाको लहरका कारण रुपन्देहीसहित २१ जिल्ला प्रभावित हुने सम्भावना रहेको जनाएको छ। दुई दिनसम्म गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरुले सुझाव दिएका छन्।
विभागले विशेष बुलेटिन जारी गर्दै १४ जिल्लामा तातो हावाको लहर चल्ने तथा सात जिल्लामा तातो दिन रहने जनाएको छ।

तातो हावाको लहरको प्रभाव पर्ने जिल्लामा रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी रहेका छन्। यी जिल्लाका बासिन्दालाई गर्मीबाट बच्न सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

यस्तै नवलपरासी पूर्व (नवलपुर), चितवन, सुनसरी, मोरङ, कञ्चनपुर, कैलाली,र झापामा तातो दिन रहने सम्भावना रहेको विभागले जनाएको छ। ती जिल्लाका बासिन्दालाई मौसमसम्बन्धी सूचनाबारे नियमित जानकारी लिइरहन पनि अनुरोध गरिएको छ।
विभागका अनुसार हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ। यसको असरले देशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना रहे पनि तराईका अधिकांश जिल्लामा वर्षाको सम्भावना न्यून भएकाले गर्मी थप बढ्न सक्ने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ।
यद्यपि मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मध्यम स्तरको तातो हावाको लहर चल्न सक्ने तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा अत्यधिक गर्मी बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।
विभागले तातो हावाको लहरबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रुपमा घाममा ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिएको छ।

