


भैरहवा, २४ जेठ। रुपन्देही क्रिकेट संघको निर्वाचनमा बुटवल क्षेत्रका मतदाताहरुले अध्यक्ष पदका उम्मेदवार पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई समर्थन गर्ने सामूहिक निर्णय गरेका छन् ।
संघमा अध्यक्ष पदमा गौचन र वर्तमान अध्यक्ष हरिबहादुर थापाले उम्मेदवारीको घोषणा गरेका छन्। दुवै जना आ-आफ्नो एजेण्डासहित चुनावी मैदानमा उत्रिएका छन्।

संघको अधिवेशन लक्षित शनिवार बुटवल क्रिकेट विकास समितिको कार्यवाहक अध्यक्ष रोमित बज्राचार्यको अध्यक्षतामा बसेको बैठक थियो।
समितिको अगुवाइमा बसेको बैठकमा बुटवल क्षेत्रका विभिन्न क्लबका प्रतिनिधिहरुले गौचनलाई समर्थन गर्ने निर्णय गरेको प्राप्त निर्णयपत्रमा उल्लेख छ।
संघको निर्वाचनमा रुपन्देही क्रिकेटको महत्वपूर्ण इकाइका रुपमा रहेको बुटवल क्रिकेट विकास समिति अन्तर्गतका मतदाताको भूमिका निर्णायक मानिन्छ। यही कारण बुटवल क्षेत्रबाट प्राप्त समर्थनले गौचनको अध्यक्षीय यात्रालाई थप बलियो बनाएको क्रिकेट वृत्तमा चर्चा छ।
सोमबार (भोलि) हुने निर्वाचनका लागि दुवै पक्षले मतदाता भेटघाट र समर्थन जुटाउने अभियानलाई तीव्र बनाएका छन्।


