


भैरहवा,२५ जेठ । रुपन्देही क्रिकेट संघको ३० वार्षिक साधारणसभा तथा पाचौं अधिवेशन आज भैरहवा आयोजना गरिएको छ।
आगामी नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष हरिबहादुर थापा र पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनबीच प्रतिस्पर्धा हुने भएको छ। मतदाताहरुले संघको नेतृत्वका लागि अध्यक्षमा थापालाई नै पुनरागमन गराउने कि परिवर्तन रोज्दै गौचनलाई अध्यक्षको जिम्मेवारी सुम्पिने भन्ने केही समयमा टुंगो लाग्ने भएको छ।

दुवैजनाबीच प्रतिस्पर्धा हुन लागेको यो दोस्रो पटक हो। अघिल्लो अधिवेशनमा यी दुवै जनाबीच भएको प्रतिस्पर्धामा थापा निर्वाचित भएका थिए।
थापाले रुपन्देही क्रिकेटमा विकास गरेको र थप अधुरो कार्य गर्ने प्रतिवद्धतासहित मतदाता माझ छन् भने गौचनले क्रिकेट क्षेत्रमा आफ्नो २५ वर्षको योगदानलाई रुपन्देही क्रिकेटको विकास र विद्यमान समस्याको समाधानमा केन्द्रित गर्ने प्रतिबद्धतासहित चुनावमा होमिएका छन्।
थापा अध्यक्षमा निर्वाचित भएपश्चात संघको कार्यक्रम, आवास, खाजा लगायतका व्यापार उनकै लगानी रहेको होटल पौवालाई दिन थालेपछि क्रिकेट क्षेत्रमा उनको आलोचना हुँदै आएको छ। संघको आज भइरहेको साधारणसभा र अधिवेशन पनि हौटल पौवामै आयोजना गरिएको छ।

