


काठमाडौं,२५ जेठ। सशस्त्र प्रहरी बल नेपालले दुई जिल्लाका कमाण्डहरु (डीएसपी) लाई हेडक्वाटरमा तानेको छ ।
कर्मचारीलाई अस्वाभाविक रुपमा बिदा दिएर संगठनात्मक अनुशासनमा कमजोरी देखाएको निष्कर्षसहित सल्यान र जाजरकोटका कमाण्डरहरुलाई हेडक्वाटरमा तानिएको हो।

कर्मचारीलाई अस्वाभाविक रुपमा अधिक बिदा दिइएको विषयमा सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा उजुरी परेपछि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो।
सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी विष्णु प्रसाद भट्टका अनुसार, समितिको प्रतिवेदनका आधारमा दुवै जिल्लाका गुल्मपति रहेका डीएसपीहरुलाई जिम्मेवारीबाट हटाएर हेडक्वाटरको कानून निर्देशनालयमा हाजिर गराइएको छ।
उनीहरुमाथि विभागीय कारबाहीसमेत गरिएको र उक्त जिल्लामा नयाँ कमाण्डर पठाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

