


बुटवल,२७ जेठ। आफ्नै सुन पसलमा चोरी गरेर बीमा रकम दाबीका लागि प्रहरीमा उजुरी दिने पसल संचालक नै घटनामा संग्लन आरोपमा पक्राउ परेका छन्।
गत जेठ १७ गते बुटवल उपमहानगरपालिका–५अमरपथस्थित तिनाउ सुनचाँदी पसलका सञ्चालक दीपक बिकले आफ्नो पसलमा १ करोड ४६ लाख १४ हजार ७ रुपैयाँ बराबरको सुनचाँदीका गहना चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।

संचालक बिकले आफू पोखरामा रहेको बेला पसलमा चोरी भएको र सिसिटिभी क्यामेरा समेत बिग्रिएको दाबी गरेका थिए। घटनाको अनुसन्धानको क्रममा संचालक आफैले योजनावद्ध रुपमा चोरीको घटना घटाएको पाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डीएसपी निशान्त श्रीवास्तवले बताए ।
चोरी भएको भनिएको समयमा पसल सञ्चालक दीपक पोखरा गएको प्रहरीलाई बताए पनि प्रहरी अनुसन्धान उनी बुटवलमै भएको खुलेको छ। चोरीको घटना जेठ १७ गते राति भए पनि दीपकले आफू पोखराबाट फर्किँदै गरेको बताएर सोमबार साँझ अबेर मात्र प्रहरीलाई चोरीबारे जानकारी गराएका थिए ।
डीएसपी श्रीवास्तवका अनुसार, बीमा रकम दाबी गर्ने र सर्वसाधरणले धितोको रुपमा राख्न दिएको सुन र पैसा फिर्ता गर्न नपर्ने योजनाबद्ध रुपमा पसलका कामदारका साथमा चोरीको नाटक गरेको अनुसन्धानमा खुलेको छ। प्रहरीले पसलका कामदार रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ बनवाटिकाका ४७ वर्षीय नविक बिकलाई पनि पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध आपराधिक विश्वासघात मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

