


काठमाडौं,२८ जेठ। संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत लिवियामा सञ्चालन भइरहेको संयुक्त राष्ट्रसंघीय सहयोग मिसनमा कार्यरत नेपाली शान्ति सैनिकहरुको फेरबदल गरिएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार श्री नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौं डफ्फालाई प्रतिस्थापन गर्न श्री गुरुबक्स गुल्म (शान्ति सेना) आठौं डफ्फाका ४१ जना नेपाली शान्ति सैनिकहरुको अन्तिम टोली बिहीबार मिसन क्षेत्रतर्फ प्रस्थान गरेको छ।

यसैबीच, उक्त मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका ४८ जना नेपाली शान्ति सैनिकहरु बुधबार स्वदेश फिर्ता भएका छन्।
हाल उक्त मिसनअन्तर्गत नेपाली सेनाका १६८ जना शान्ति सैनिकहरु कार्यरत रहेका छन्। नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियानहरुमा सक्रिय सहभागिता जनाउँदै शान्ति र स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

