


काठमाडौं,२८ जेठ। विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा कार्यालयले विभिन्न व्यक्ति र ४ कम्पनीलाई प्रतिवादी बनाउँदै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल धितोपत्र बोर्ड र नेपाल बिमा प्राधिकरणबाट प्राप्त अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न सिफारिस गरेको थियो।
सम्पत्ति शुद्धीकरण मुद्दामा दिपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ।
सहन्यायाधिवक्ता गङ्गाराम पौडेलका अनुसार, हिमालयन रि–इन्स्योरेन्स सहितका कम्पनीहरुको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा अभियोग दायर गरिएको हो।

