


तिलोत्तमा, ४ असार । तिलोत्तमा नगरपालिका क्षेत्रका उद्योगी तथा व्यवसायीले प्रयोग गर्ने नापतौलसम्बन्धी उपकरणको नवीकरणलाई सहज बनाउन तिलोत्तमा व्यापार संघले बिहीबारदेखि विशेष सेवा कार्यक्रम सुरु गरेको छ।
कार्यक्रमअन्तर्गत तराजु, डिजिटल स्केललगायत नापतौलका उपकरणको नवीकरण तथा आवश्यक प्रक्रिया स्थानीय स्तरमै गरिने बताइएको छ। यसका लागि नापतौल कार्यालय बुटवलको प्राविधिक टोलीले विभिन्न स्थानमा पुगेर सेवा प्रदान गरिरहेको संघले जनाएको छ ।

संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेका अनुसार व्यवसायीलाई कार्यालय धाउनुपर्ने झन्झट हटाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। सेवा तीन दिनसम्म विभिन्न स्थानमा सञ्चालन हुनेछ।
संघका अनुसार, कार्यक्रमको पहिलो दिन बिहीबार शंकरनगरस्थित रेडिसन होटल मा वडा नं. १ देखि ४ सम्मका व्यवसायीलाई सेवा प्रदान गरिएको छ। त्यस्तै असार ५ गते कोटिहवा चोकमा वडा नम्बर १३, १४, १५, १६, १७ र १८ का व्यवसायीलाई सेवा दिइनेछ। असार ८ गते तिलोत्तमा व्यापार संघको सभाहलमा वडा नम्बर ५, ६, ७, ८, ९, १०, ११ र १२ सहित छुटेका अन्य वडाका व्यवसायीलाई सेवा उपलब्ध गराइनेछ ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने उक्त सेवाबाट नगरभित्रका उद्योगी तथा व्यवसायी लाभान्वित हुने अपेक्षा गरिएको छ । नापतौल कार्यालय बुटवलका निरीक्षक गुरुप्रसाद पोखरेलले अहिले तिलोत्तमाका विभिन्न वडाहरुमा पुगेर सेवा प्रदान गरिने र बिस्तारै यसलाई अन्य क्षेत्रमा पनि लगिने बताए ।

