


हृदयराम गुप्ता
मर्चवार,७ असार । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा तिनाउ नदीको पानीको सतह अत्यधिक घटेको छ । जसका कारण मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्प स्टेशन सञ्चालनमा समस्या उत्पन्न भएको छ। धान रोपाइँको समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित भएको छ।
मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष राजेन्द्र यादवका अनुसार वर्षाको अभावले तिनाउ र दानव नदी दुवैको जलस्रोत घट्दै गएको छ। नदीमा पानीको सतह पम्पले पानी तान्न सक्ने न्यूनतम सीमाभन्दा तल पुगेपछि सिँचाइ सञ्चालनमा समस्या उत्पन्न भएको उनले बताए।

‘धान रोपाइँ सुरु भइसकेको छ र अधिकांश किसान सिँचाइका लागि यही आयोजनामा निर्भर छन्’,उनले भने,‘तर, नदीमा पर्याप्त पानी नहुँदा पाँचमध्ये हाल तीन वटा पम्प मात्र सञ्चालनमा छन्। यसले किसानलाई ठूलो समस्या परेको छ।’
दानव नदीबाट बग्ने पानी रोक्न कम्तीमा पाँच फिट उचाइको बाँध (ड्याम) निर्माण गर्न सकिए सिँचाइका लागि आवश्यक पानी नियमित रुपमा उपलब्ध गराउन सहज हुने उनको भनाइ छ।
पम्प स्टेशन प्रबन्धक अकरम खानका अनुसार नदीको पानीको सतह आयोजनाको डिजाइनमा तोकिएको न्यूनतम स्तरभन्दा करिब १.५ मिटर तल झरेको छ । यस्तो अवस्थामा पम्प सञ्चालन गर्दा मोटर तथा अन्य उपकरणमा क्षति पुग्ने जोखिम रहेको उनको भनाइ छ।
पानीको अभावले तिनाउ नदीका धेरै भागमा नदीको सतह सुक्न थालेको छ। कतिपय स्थानमा घाँस उम्रिएको छ भने नदीको बीचभागमा बालुवा र माटो देखिन थालेको छ। नदी किनारका जमिनमा समेत चिरा पर्न थालेका छन् । यस अवस्थाले सिँचाइ व्यवस्थामात्र नभई समग्र कृषि उत्पादनलाई समेत असर गर्ने किसानहरुमा चिन्ता बढाएको छ।
समयमै सिँचाइ नपाउँदा किसानहरु थप चिन्तित बनेका छन्। केही किसानले रोपिसकेको धान सुक्ने डर व्यक्त गरेका छन् भने केहीले अझै रोपाइँ सुरु गर्न सकेका छैनन्। वर्षाको प्रतीक्षामा रहेका किसानहरु आकाशे पानीको भरमा बस्न बाध्य छन्।
मर्चवार क्षेत्रको कृषि उत्पादन मुख्यतः सिँचाइमा निर्भर रहेको छ । यदि पानीको अभाव लम्बिँदै गएमा धान उत्पादनमा उल्लेख्य गिरावट आउने र किसानहरुले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने स्थानीयहरुको भनाइ छ।
स्थानीय बासिन्दाहरुका अनुसार मर्चवार लिफ्ट सिँचाइ आयोजनाले खेतीपातीका साथै भू–जलको सतह सन्तुलित राख्न समेत महत्वपूर्ण भूमिका खेलेको छ। आयोजनाबाट पर्याप्त पानी आपूर्ति हुन नसके भविष्यमा खानेपानीको स्रोतमा समेत असर पर्न सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन्।

