


काठमाडौं,८ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा राहदानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्य लगायतलाई प्रतिवादी बनाइएको छ। उक्त मुद्दामा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरिएको छ।

मुद्दामा विभागका १० कर्मचारी, दुई कम्पनी, चार विदेशी नागरिक तथा दुई जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई समेत प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
राहदानी छपाइका लागि गरिएको खरिद तथा ठेक्का प्रक्रियामा कानुनविपरीत निर्णय र कार्यसम्पादन भएको निष्कर्षपछि आयोगले अनुसन्धान अघि बढाएको थियो। सोही अनुसन्धानका आधारमा सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

