


भैरहवा,९ असार । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित तीन जना जनप्रतिनिधिहरु पदमुक्त भएका छन्।
निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचना गर्दै कांग्रेसबाट निर्वाचित तीन जना जनप्रतिनिधिहरु पदमुक्त भएको जनाएको छ।

आयोगका अनुसार, रुपन्देहीको बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का अध्यक्ष बिष्णु ढकाल, पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा पदमुक्त भएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु अन्य दलमा प्रवेश गरेको भनी निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराए पश्वात् आयोगको असार ८ गतेको बैठकले तीन जना जनप्रतिनिधिको पद रिक्त गर्ने निर्णय गरेको थियो ।
आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम उनीहरु पदमुक्त भएको जनाएको छ। त्यसमा दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।
निर्वाचित जनप्रतिनिधिले निर्वाचित भएको दल छोडेमा निजहरु बहाल रहेको पद स्वतः रिक्त हुने कानुनी प्रावधान छ।


