
हृदयराम गुप्ता
मर्चवार,९ असार । रुपन्देहीको कोटहीमाई गाउँपालिकालाई आर्थिक वर्ष २०८२/८३ का लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिका खोप समन्वय समितिको आयोजनामा एक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला खोप समन्वय समितिका संयोजक उमाकान्त चपाईले स्वास्थ्य क्षेत्रलाई स्थानीय तहले अझ बढी प्राथमिकतामा राख्नुपर्ने बताए। उनका अनुसार रुपन्देहीका १६ स्थानीय तहमध्ये १३ वटा स्थानीय तहले आर्थिक वर्ष २०८२÷८३ का लागि पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेका छन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

चपाईले मर्चवार क्षेत्रका तीनवटै स्थानीय तहले खोप तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको प्रशंसा गर्दै उनले उनीरुको मनोबल उच्च बनाउन छिमेकी स्थानीय तहहरुले सञ्चालन गरेका प्रोत्साहन कार्यक्रमबाट सिक्न सुझाव दिए। साथै, लुम्बिनी प्रदेशका केही स्थानीय तहले स्वास्थ्य क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासको उदाहरण प्रस्तुत गर्दै कोटहीमाईले पनि नमुना कार्य गर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आगामी वर्षदेखि थप आकर्षक प्रोत्साहन उपलब्ध गराइने जानकारी दिए। स्वास्थ्य सेवाको पहुँच विस्तार तथा समुदायमा देखिएका स्वास्थ्यसम्बन्धी समस्याको समाधानका लागि स्वयंसेविकाहरुले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले उनीहरुलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
पूर्ण खोप सुनिश्चितता घोषणा पूर्व खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेविका तथा सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष त्रिपाठीले आगामी दिनमा पनि पूर्ण खोपको दिगोपना कायम राख्न गाउँपालिका प्रतिबद्ध रहेको बताए।
स्वास्थ्य शाखा प्रमुख जितेन्द्र यादवले प्रस्तुत गरेका प्रतिवेदन अनुसार, पालिकाका ७ वडामा सञ्चालित २१ वटा खोप केन्द्रमार्फत ३ हजार ७ सय ५२ जना बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ।
त्यस्तै गाउँपालिका अन्तर्गत रहेका ७ वटा स्वास्थ्य संस्थाबाट चालु आर्थिक वर्षमा ८ हजार ३ सय ८ जना पुरुष र १० हजार ८ सय ५९ जना महिला गरी कुल १९ हजार १ सय ६७ जनाले ओपीडी सेवा लिएका छन्।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशीला कुमारी यादव, समाजसेवी गुरुवचन यादव, सक्रौन–पकडी स्वास्थ्य चौकीका इन्चार्ज घनलाल अर्याल तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कमलावती देवी कहारलगायतले भनाइ राखेका थिए।
गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मनबहादुर कुँवरले गरेका थिए।

