


भैरहवा, १०असार। भैरहवाको कालिका पथमा शुभकार्य तथा धार्मिक–सांस्कृतिक कार्यक्रमका लागि आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यसहित ‘समृद्धि क्रियेशन्स’ सञ्चालनमा आएको छ।
बुधबार आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ तथा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले संयुक्त रुपमा प्रतिष्ठानको उद्घाटन गरे।

प्रतिष्ठानकी सञ्चालक सिता काफ्ले घिमिरेका अनुसार समृद्धि क्रियेशन्समा विवाह, व्रतबन्ध, अन्नप्राशन, नामकरण, हल्दी, मेहेन्दी, जन्मदिन, वैवाहिक वर्षगाँठ, पूजा–आराधना लगायतका शुभ अवसरका लागि आवश्यक पर्ने विभिन्न प्रकारका हस्तकलाजन्य सामग्री थोक तथा खुद्रा रूपमा उपलब्ध गराइनेछ।
ग्राहकको आवश्यकता अनुसार आधुनिक तथा परम्परागत शैलीका सजावटी सामग्री, पूजा सामग्री, दुबोका माला, स्वागत सामग्री, उपहारजन्य वस्तु तथा अन्य हस्तनिर्मित सामग्री एकै स्थानबाट खरिद गर्न सकिने व्यवस्था गरिएको सञ्चालक घिमिरेले जानकारी दिइन्।
पछिल्लो समय विवाह तथा अन्य शुभकार्यमा आकर्षक सजावट र हस्तनिर्मित सामग्रीको प्रयोग बढ्दै गएको सन्दर्भमा ग्राहकको आवश्यकता सहज रूपमा पूरा गर्ने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याइएको उनले बताइन्। यसबाट विभिन्न सामग्री खोज्न अनेक स्थान धाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ।
प्रतिष्ठानले स्थानीय स्तरमा उत्पादन भएका हस्तकलाका सामग्रीलाई समेत प्राथमिकता दिने जनाएको छ। यसले स्थानीय सीप, कला तथा उत्पादनको प्रवर्द्धनसँगै स्वरोजगार सिर्जनामा समेत टेवा पुग्ने विश्वास लिइएको छ। ग्राहकको रोजाइअनुसार विशेष अर्डरमा विभिन्न डिजाइनका सामग्री तयार गर्ने सुविधा पनि उपलब्ध रहेको बताइएको छ।
धार्मिक तथा सांस्कृतिक परम्परासँग सम्बन्धित सामग्री सहज रुपमा उपलब्ध हुँदा भैरहवा तथा आसपासका क्षेत्रका सेवाग्राही प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। समृद्धि क्रियेशन्सले आगामी दिनमा सेवा विस्तार गर्दै नयाँ–नयाँ सामग्री थप गर्ने योजना समेत अघि सारेको छ।

